चन्द्रागिरिको भव्यता

२५ सय १० मिटर उचाइ । छिनछिनमा बदलिरहने मौसम । वरिपरि हरियाली । तल काठमाडौं उपत्यका छर्लंगै देखिन्छ । आँखैअगाडि आइपुग्छन् हिमाल । चन्द्रागिरि हिल्स रिसोर्टमा पुग्दा काठमाडौंको धुवाँ, धुलो र व्यस्तता सबै भुलिन्छ ।केही दिनअघि नेकपा एकताको गाँठो फुकाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ चन्द्रागिरि हिल्स रिसोर्ट पुगेका थिए । दुवै अध्यक्षबीच दुई दिनसम्म छलफल चलेको थियो ।

चन्द्रागिरि रिसोर्टको सञ्चालन चन्द्रागिरि हिल्सले गरिरहेको छ । यो एकीकृत परियोजना हो । चन्द्रागिरि हिल्सले केवलकार, मनोरञ्जन पार्क, भ्यु टावर र रेस्टुरेन्ट सञ्चालन गरेको छ । त्यहाँ भालेश्वर महादेवको मन्दिर पनि छ । आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको अगुवाइमा व्यवसायीको समूहले चन्द्रागिरि परियोजनामा लगानी गरेको हो । रिसोर्टमा सय कोठा छन् । केही कोठामा साजसज्जाको काम भइरहेको छ । ४८ कोठा पूर्ण रूपमा तयार छन् । रिसोर्टमा आठ वटा स्विट रुम हुनेछन् । अहिले रिसोर्ट आंशिक रूपमा सञ्चालनमा छ । रिसोर्टमा बुकिङ पनि आउन थालेको छ । ‘रिसोर्ट तीन महिनाभित्र पूर्ण क्षमतामा सञ्चालनमा आइसक्नेछ,’ रुम डिभिजन म्यानेजर श्याम तण्डुकारले बताए ।

रिसोर्ट झट्ट हेर्दा दरबारजस्तो देखिन्छ । २० रोपनी क्षेत्रफलमा फैलिएको छ । नेपाली मौलिकता झल्काउने आर्किटेक्चर छ । तण्डुकार भन्छन्, ‘कोठाबाटै हिमाल, पहाड र काठमाडौं सहर देख्न सकिन्छ, उठ्नेबित्तिकै हिमाल हाँसेको देख्न पाइन्छ ।’रिसोर्टमा रहेको इन्फिनिटिभ स्विमिङ पुलले आकर्षण थपेको छ । माथि स्विमिङ पुल छ, तल स्पा, साउना, ज्याकुजी, हेल्थ क्लब छन् । एक सय ५० जना अटाउने तीनवटा सभाहल छन् । जहाँ सार्कस्तरीय सभा–सम्मेलन गर्न सकिन्छ । काठमाडौंमा आयोजना हुने सार्कस्तरीय कार्यक्रम चन्द्रागिरिमा गराउने लक्ष्य राखिएको छ ।

रिसोर्टमा सार्क मुलुकका आठजना राष्ट्रध्यक्ष बस्न मिल्ने गरी आठवटा स्विट रुम बनाइएको हो । पाहुना लैजान दुईवटा हेलिप्याड छन् । हाई प्रोफाइल पाहुना र खर्चालु पर्यटकलाई लक्षित गरेर हेलिप्याड बनाइएको हो । रिसोर्टका डिलक्स कोठाको मूल्य १४० र १६० अमेरिकी डलर तोकिएको छ । स्विटको मूल्य महँगो हुनेछ ।रिसोर्टमा १ चैतदेखि पाहुना राख्न थालिएको छ । रिसोर्टका मुख्य ग्राहक कर्पोरेट गेस्ट हुन् । रिसोर्टका म्यानेजर नवीन राउत भन्छन्, ‘रिसोर्टलाई विवाह, व्रतबन्ध, एनिभर्सरी, बर्थडे, सभा–सम्मेलनको उपयुक्त गन्तव्य बनाउने उद्देश्य राखिएको छ ।’ रिसोर्टमा पाँचवटा भवन छन् । भिन्न–भिन्न भवन भएकैले विवाह, भोज गर्दा रिसोर्टका अरू पाहुनालाई कुनै अवरोध हुँदैन ।’

रिसोर्टका भवनलाई हिमालको नाम दिइएको छ । गौरीशंकर, सगरमाथा, मनास्लु, गणेश हिमाल । गौरीशंकर र सगरमाथा भवनमा स्विट रुम हुनेछन् । गणेश हिमाल, मनास्लु भवनमा डिलक्स र एक्जुकेटिभ रुम हुनेछन् । रिसोर्टमा ढुंगेधारा बनाएर पुरानो परिवेश झल्काउन खोजिएको छ । रिसोर्टमा ढुंगा छापेर आकर्षक बनाइएको छ । रिसोर्टमा आउने पाहुनालाई केबलकारको बटम स्टेसन (थानकोट)मै भव्य स्वागत हुनेछ । त्यहाँबाट केबलकार चढेर पाहुना चन्द्रागिरि डाँडोमा आइपुग्नेछन् । केबलकारको टप स्टेसनबाट घुमफिर गर्दै हिँडेर रिसोर्टसम्म पुग्न सकिन्छ । हिँड्न नचाहने पाहुनालाई बोलेरो र हाइसले बोकेर रिसोर्टसम्म पु-याउने व्यवस्था छ । केबलकारबाट झरेपछि रिसोर्टसम्म पुग्न डेढ किलोमिटर दूरी पार गर्नुपर्छ ।

रिसोर्ट पूर्ण क्षमतामा सञ्चालनमा आइसकेपछि भालेश्वर मन्दिरनजिकैबाट रिसोर्टसम्म जिपलाइन सञ्चालन गर्ने योजना छ । रिसोर्टका पाहुनाले जिपलाइन पनि प्रयोग गर्न सक्नेछन् । चन्द्रागिरिबाटै प्याराग्लाइडिङ गराउने योजना छ । रिसोर्टबाट ट्रेकिङ र हाइकिङ जान पनि सकिन्छ । पाहुनाले चाहेको खण्डमा नजिकका गाउँ वा डाँडोतिर हाइकिङ लैजान सकिने म्यानेजर तण्डुकार बताउँछन् ।रिसोर्टबाट भालेश्वर मन्दिरसम्म पैदल जान पनि सकिन्छ । त्यहाँ पुग्न करिब २० मिनेट लाग्छ । यो एकीकृत परियोजनाले नेपाली पर्यटनमा नयाँ आयाम थपिदिएको सञ्चालकहरू बताउँछन् ।